माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “छैठौं विश्व योग दिवस”को शुभकामना सन्देश
छैठौं विश्व योग दिवसका अवसरमा सम्पूर्ण नेपाली एवम् कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा योग मार्फत जीवनलाई स्वस्थ बनाउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
योग भनेको एक आपसमा जोड्नु हो । योग गर्नाले मानवीय चेतनालाई शरीरका अङ्गहरुसँग जोड्न मद्दत गर्दछ । पूर्वीय दर्शनबाट प्रादुर्भाव भएको योग र ध्यानले शरीरलाई स्वस्थ राख्न मद्दत पुग्ने कुरालाई आधुनिक चिकित्सापद्धतिले समेत स्वीकार गरिसकेको छ । मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउनका लागि योगको महत्वपूर्ण योगदान रहेको छ । योगले शरीर स्वस्थ राखि रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले नियमित योगबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बिरुद्ध लड्न समेत मद्दत पुग्ने विश्वास गरेको छु ।
परिवर्तित जीवनशैली र खानपानको कारण पनि स्वस्थ रहनकालागि योग गर्नु अपरिहार्य जस्तै भएको छ । योगबाट खासगरी स्वास्थ्यमा सुधार, कार्यक्षमतामा वृद्धि, चिन्ताबाट छुटकारा, मानसिक शान्ति, रोग प्रतिरोध क्षमतामा वृद्धि, सकारात्मक सोचको विकास हुने भएकाले म यस विश्व योग दिवसको अवसरमा नियमित योग गर्न सबैमा अपिल गर्दछु ।
अन्तमा, ‘घरमा योग, परिवारको साथ योग’भन्ने नारा राखिएको यस वर्षको योग दिवसले हामी सबैमा सकारात्मक चिन्तनको विकास गरि समुन्नत राष्ट्र निर्माणमा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
मिति २०७७ असार ७ गते, आइतबार ।
गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख
कर्णाली प्रदेश