आर्थिक वर्ष

‘संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को सुखद् अवसरमा सम्पूर्ण देशवासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै मुलुकमा भएका विभिन्न कालखण्डका सङ्घर्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका जनयुद्ध र जनआन्दोलनमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण वीर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडितहरू प्रति सम्मान प्रकट गर्दछु ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको फलस्वरूप ऐतिहासिक जननिर्वाचित संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको महत्वपूर्ण दिनको सम्मान स्वरूप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौं । वर्तमान संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई आपसी सद्भाव र सहिष्णुतामा आधारित भएर बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।

जनताको राजनीतिक अधिकार प्राप्तिको सङ्घर्षको चरण सम्पन्न भइसकेको छ, अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने प्रधान दायित्व हाम्रो काँधमा आएको छ । संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिकसामाजिक प्रणाली विकास गर्न आवश्यक नीति निर्माण र कार्यान्वयनका लागि तीनै तहका सरकार तथा अन्य सबै सरोकारवाला पक्षहरू जिम्मेवारी पूर्वक लाग्ने अपेक्षा गरेको छु । आजको यस दिनले नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा र कर्णाली प्रदेशको दीर्घकालीन सोच समृद्ध कर्णाली, सुखारी कर्णालीवासी”लाई पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई थप प्रेरणा दिने विश्वास गरेको छु ।

अन्तमा, संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबै पक्ष एकताबद्ध भई मन, वचन र कर्मले समर्पित हुन सबैमा आह्‍वान गर्दै संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८को पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७८ असोज ०३ गते, आइतबार ।