आर्थिक वर्ष

कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय गोविन्दप्रसाद कलौनीज्यूले “माघे सङ्क्रान्ति / मकर सङ्क्रान्ति / माघी पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश
 

धार्मिक, भाषिक, सांस्कृतिक तथा जातीय विविधता सँगै चाडपर्वको स्वर्णिम सङ्गमको रुपमा रहेको माघे सङ्क्रान्ति / मकर सङ्क्रान्ति / माघी पर्व, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली एवम् कर्णालीवासी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु |

यो पर्व स्नान, दान, पूजाअर्चना, मनोरन्जन र मिष्ठान्न भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ | थारु समुदायमा ‘माघी पर्व’ नयाँ वर्षको रुपमा समेत धूमधामसँग मनाईन्छ | साँस्कृतिक सम्पदाको रुपमा रहेका यस्ता पर्वहरुले हाम्रो देशलाई विश्वमा सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् |  यस पर्वले हाम्रो समाजमा विभिन्न जातजाति, भेषभुसा, धर्म, संस्कृतिबिच आपसी मेलमिलाप अभिबृद्धि गरी सामाजिक, सांस्कृतिक सहिष्णुता र सद्भावलाई सुदृढ बनाउन एवम् साझा नेपाली पहिचान कायम गर्न मद्दत पुग्ने मैले विश्वास लिएको छु | हामी नेपालीबीच मनाईने यी र यस्ता पर्वहरुले संस्कृतिको संरक्षण तथा सम्बर्धन गरी सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देश दिन सक्नु पर्दछ |

अन्तमा, विभिन्न समुदायले फरक फरक नाम र मान्यता अनुसार मनाउने यो विशेष चाडले सबै कर्णालीवासीहरुमा हर्षोल्लास, एकता, उत्साह, उमङ्गका साथ आपसी सद्भाव कायम गर्न टेवा पुर्याउने विश्वास व्यक्त गर्दछु |
 

धन्यवाद !

२०७६ माघ १ गते, बुधवार ।