आर्थिक वर्ष

११०औं अन्तर्राष्ट्रिय महिला दिवस, २०७६को अवसरमा माननीय प्रदेश प्रमुखज्यूले दिनुभएको शुभकामना सन्देश:-
लैङ्गिक समानता र समावेशी न्यायको स्थापनार्थ पटक पटक भएका आन्दोलनहरुबाट महिलाका हक अधिकारको सुनिश्चितता गरेको दिनको सम्झनामा मनाईने यस अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका कर्णालीवासी तथा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
समानताको पुस्ता:अन्त्य गरौं विभेद र असमानताभन्ने यस वर्षको नाराले महिला र पुरुषबीच समान हैसियत कायम गर्न, महिला विरुद्ध हुने सबै प्रकार र स्वरूपका भेदभावहरु उन्मुलन गरी लैङ्गिक न्याय स्थापना गर्न सकोस भन्ने सन्देश दिएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाएको छ । नेपालको संविधानले पनि महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ । संविधानले व्यवस्था गरेका सम्मानजनक सहभागिताका प्रावधानहरुलाई व्यवहारमा प्रत्याभूति गराउन आ-आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्दछु ।

अन्तमा, यस दिवसले हामी सबैलाई महिलाहरुको सामाजिक, पारिवारिक र विकासात्मक भूमिकाको कदर गर्न, महिला र पुरुषवीच समान हैसियत कायम गरी समृद्धि पथमा लम्कन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७६ फाल्गुण २५ गते ।

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख
कर्णाली प्रदेश