आर्थिक वर्ष

नोवल कोरोना भाइरस (कोभिड-१९)बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा जारी सन्देश

 

आदरणीय प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरू,

नोवल कोरोना भाइरस (कोभिड-१९)ले हाल विश्वभरि महामारीको रूप लिएको सर्वबिदितै छ, यसको सङ्क्रमणबाट आफू जोगिन र समाजलाई जोगाउन विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुबाट अधिकारिक रूपमा जारी गरिएका उपायहरु, निर्देशन र आचारसंहिताको अवलम्बन गरि अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आ-आफ्नो ठाउँबाट क्रियाशील हुन हार्दिक आव्हान गर्दछु ।

यो भाइरस व्यक्तिगत सम्पर्कबाट फैलने भएकोले हामी सबैले सामाजिक दूरी कायम कायम गर्नैपर्ने हुन्छ, यसको लागि नेपाल सरकारले गरेको लकडाउनको पूर्ण रूपमा पालना गर्न सम्पूर्ण प्रदेशवासीमा अपिल गर्दछु । विशेष गरि कोरोना सङ्क्रमित देशहरुबाट फर्किनुभएका नागरिकहरुले कम्तिमा १४ दिन छुट्टै (क्वारेन्टाइनमा) बसेर सहयोग पुर्याउन, सम्पूर्णले व्यक्तिगत सरसफाईमा ध्यान दिन र कोरोनाको आशंका भएमा तुरुन्तै नजीकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्दछु ।

यस कोरोना भाइरसको सङ्क्रमण रोकथाम एवम् उपचारमा अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, तिनै तहका सरकारका अङ्गहरू, जनप्रतिनिधि, कर्मचारीहरु, सामाजिक संघ संस्था, उद्यf]गी व्यवसायी लगायत सम्बद्ध सबैको मनोबल उच्च राख्नमा सहयोग पुर्याउन सबैमा हार्दिक अनुरोध गर्दछु । यस महामारीको घडीमा आवश्यक पर्ने खाद्यान्न, औषधीजन्य सामग्री र अन्य जीवन रक्षार्थ अत्यावश्यक बस्तुको आपूर्तिको समयमै व्यवस्था गर्न सम्बद्ध सबैको ध्यान आक्रिस्ट गर्दछु ।

अन्तमा, कोरोनाभाइरसको सङ्क्रमणलाई रोक्नका लागि सामाजिक दूरी कायम गरि सरसफाई सहित घरमा बस्नु नै उत्तम विकल्प हुने कुरामा पुनः जोड दिदै यस जटिल परिस्थितिको संयमतापूर्वक साहसपूर्ण तवरले सामना गरि मानव अस्तित्व रक्षार्थ सबै एकजुट भई अघि बढ्न अपिल गर्दछु ।

धन्यवाद !
 

२०७६ चैत्र १४ गते, शुक्रवार ।                                                                               

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश