आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “१३ औं गणतन्त्र दिवस” को शुभकामना सन्देश

१३ औं गणतन्त्र दिवसको यस सुखद् अवसरमा गणतन्त्र स्थापनार्थ लगायत बिभिन्न ऐतिहासिक कालखण्डका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरू प्रति श्रद्धासुमन अर्पण गर्दै कर्णालीवासी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
ऐतिहासिक संविधानसभाको पहिलो बैठकले बि.स.२०६५ साल जेष्ठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको दिनको सुखद् स्मरण गर्दै हामीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएका छौं । यस दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा बाँधिई यहाँ उपलब्ध प्राकृतिक श्रोत र साधनको अधिकतम उपयोग गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न थप उर्जा पैदा गर्ने अपेक्षा गरेको छु । लामो सङ्क्रमणकाल पश्चात मुलुकमा राजनीतिक स्थिरता र दिगो शान्ति स्थापना भएको वर्तमान परिवेशमा राष्ट्रिय अखण्डताका साथै राष्ट्रिय स्वाभिमानको भावना जागृत गर्दै समाजमा रहेका सबै प्रकारका विभेदहरूको अन्त्य गरि समतामुलक समाज निर्माण गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु । 
यस कर्णाली प्रदेशमा पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९)को जोखिम बढ्दै गएको वर्तमान परिपेक्ष्यमा यसको सङ्क्रमणबाट आफू जोगिन र अरूलाई जोगाउन विश्व स्वास्थ्य सङ्गठन र सरकारद्वारा आधिकारीक रूपले जारी निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गर्दछु ।
अन्तमा, कोरोनाभाइरस (कोभिड-१९)को सङ्क्रमणबाट देहान्त भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु र सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
धन्यवाद !
मिति २०७७ जेष्ठ १५ गते, बिहिबार ।                 

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख  
कर्णाली प्रदेश