आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा व्यक्त शुभकामना सन्देश

 

सन् १९४८ डिसेम्बर १० तारिखमा विश्‍वव्यापी मानवअधिकार घोषणापत्र जारी भएको दिनको सम्झनामा मनाइने यस अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका कर्णालीवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, संवर्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चिततालाई जोड दिएको छ । संविधान र कानूनद्वारा प्रदत्त आधारभूत मानवअधिकारको प्रत्याभूतिका लागि मुलुकमा विभिन्न संस्थागत संरचनाहरू तथा नीतिगत एवम् कानूनी व्यवस्थाहरू गरिएका छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्धनसम्वन्धी नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै समृद्ध तथा समुन्नत बनाउने कार्य राज्यको दायित्वको रूपमा स्थापित गरिएको छ । यसले मानवअधिकारको यथोचित सम्मान, संरक्षण र प्रवर्द्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मद्दत गरेको छ । संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयनबाट नै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा हासिल गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

“महामारीमा मानव अधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार” भन्ने यस वर्षको नाराले विद्यमान महामारीको अवस्थामा नागरिकको स्वास्थ्य उपचारमा राज्यको थप ध्यानाकर्षण गरेको छ र स्वास्थ्य क्षेत्रको विकास एवम् विस्तारलाई राज्यले अझ बढी महत्त्व दिनुपर्ने सन्देश दिएको छ ।

अन्तमा, यस ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसले महामारीका बीच आपसी सद्भाव, सामाजिक एकता र मौलिक हकको प्रत्याभूति गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !
२०७७ साल मंसिर २५ गते, बिहीबार ।                                                        

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख
कर्णाली प्रदेश