आर्थिक वर्ष

‘बकर इद’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-उल-जोहा अर्थात् बकर इद (हिजरी सम्वत् १४४२)को अवसरमा मुसलमान समुदाय लगायत सम्पूर्ण नेपालीजनमा सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

इस्लामले बकर इद (इद-उल-जोहा) र इद-उल-फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद-उल-फितर अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने गरिन्छ । बकर इदमा इस्लाम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने प्रचलन रहिआएको छ । विविधतायुक्त हाम्रो समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधता रहेको नेपाली समाजमा यस्ता चाडपर्वहरूले भ्रातृत्व, सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास गरेको छु ।

अन्तमा, हाल विश्वभर फैलिएको कोभिड-१९ (कोरोनाभाइरस)को महामारीबाट आफू बच्न र अरूलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी घरमै धार्मिक क्रियाकलाप गर्न अनुरोध गर्दै बकर इदको अवसरमा सम्पूर्ण नेपालीजनमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७८ साउन ६ गते, बुधवार ।