‘विजयादशमी, २०७८’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश
हिन्दूहरूको महान् चाड ‘विजयादशमी, २०७८’को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
विजयादशमी पर्व असोज शुक्ल प्रतिपदा (घटस्थापना)देखि नवमीसम्म नवदुर्गा भवानीको पूजा अर्चना र आराधना गरी मनाउने परम्परा रहिआएको छ । विजया दशमीको दिन देखि असोज शुल्क पूर्णिमा सम्म नवदुर्गा भवानीले असत्य माथि सत्यले विजय हासिल गरेको दिनको उपलक्ष्यमा विजयको प्रतीक स्वरूप मान्यजनको हातबाट टीका, जमरा, फूलपाती र आशीर्वाद ग्रहण गर्ने गरिन्छ । बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता रहेको हाम्रो समाजमा विजयादशमीलगायतका चाडपर्वहरूले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्दै सामाजिक एकता थप बलियो बनाउन मद्दत पुग्ने भएकाले यिनको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । यस्ता सांस्कृतिक महत्त्व बोकेका चाडपर्वहरूलाई देखावटी पनमा जोड नदिई यिनको मौलिकता जोगाइ राख्ने ढंगले मनाउन सबैमा आग्रह गर्दछु ।
अन्तमा, विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण अझै हटि नसकेकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी विजयादशमी पर्व मनाउन आह्वान गर्दै पुन: सबैमा शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
मिति २०७८ असोज २९ गते, शुक्रवार ।
गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख
कर्णाली प्रदेश