आर्थिक वर्ष

‘तिहार पर्व २०७८’ को शुभकामना सन्देश

नेपाली हिन्दूहरूको दोस्रो महान् धार्मिक तथा सांस्कृतिक पर्व ‘तिहार पर्व, २०७८’ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

हिन्दू परम्परा अनुसार यमराजले आफ्नी बहिनी यमुनाको घरमा निम्तो स्वीकार गरी कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन आतिथ्यता ग्रहण गरेको सम्झनामा मनाइने तिहार पर्वलाई ‘यमपञ्चक’ को नामले समेत चिन्ने गरिन्छ । तिहारको पहिलो दिन त्रयोदशीमा कागको, दोस्रो दिन चतुर्दशीमा कुकुरको, तेस्रो दिन औँसीमा गाई र लक्ष्मीको पूजा गरी साँझमा दीपावली, चौथो दिन प्रतिपदामा गोवर्द्धनको पूजा गर्ने र देउसी-भैलो खेल्ने तथा अन्तिम पाँचौं दिन द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाउँदै सु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्ने प्रचलन छ । उज्यालो र फूलहरूको रमाइलो यस पर्वले नेपाली समाजमा आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ गर्नमा टेवा पुर्‍याउने मैले विश्वास गरेको छु ।

अन्तमा, ‘तिहार पर्व २०७८’ ले समाजको शान्ति, सु-व्यवस्था, मुलुकको राष्ट्रिय एकता, मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गर्दै पुनः सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।