आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “राष्ट्रिय धान दिवस(असार १५)”को शुभकामना सन्देश

राष्ट्रिय धान दिवस (असार १५)को अवसरमा सम्पूर्ण देशवासीका साथै कर्णाली प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु |

नेपालको खाद्यान्न बाली मध्ये धान प्रमुख बाली हो | हिलो अनि हरियालीका साथ आउने असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा समेत लिने गरिन्छ | यो महिनाको मध्य दिन अर्थात असार १५ को दिनलाई प्रत्येक वर्ष नेपालमा राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिनको रूपमा मनाईन्छ | यो दिनलाई व्यस्तताका बीच थकाइ मारिने पर्वका रूपमा समेत लिने गरिन्छ | रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले पनि असार १५ लाई मनाउने परम्परा रहिआएको छ |

असार महिनाको परिवेशले मानिसहरू बीच आपसी भाइचारा, आत्मियता र निकटतम सम्बन्धमा अभिवृद्धि भैरहेको हुन्छ | पानी र हिलोको कुनै प्रवाह नगरी धान रोप्दै गाइने गीतका सुरिलो भाकाले गर्दा यो महिना सांस्कृतिक दृष्टिकोणले पनि उत्तिकै महत्व राख्दछ | खेतमा काम गर्ने खेतालाहरूले रमाइलो गर्दै थकान बिर्सेर गीत गाउँदै काम गरिरहेका हुन्छन् | यसले सामाजिक सहिष्णुता थप बलियो बनाउने विश्वास लिएको छु |

कृषिप्रधान देश नेपालले कृषिमा आत्मनिर्भर बन्न र मुलुकको अर्थतन्त्रलाई सुदृढ गरी “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा परिपूर्ति गर्न कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी कृषिको स्थानमा व्यावसायिक कृषि उत्पादन गर्ने तर्फ ध्यान दिनुपर्ने आजको आवश्यकता हो | यो राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न र किसानको जीवनस्तर माथि उठाउन यो दिवस फलदायी बन्ने अपेक्षा गरेको छु |

अन्तमा, कोभिड-१९ को महामारीको कारण आन्तरिक र वैदेशिक रोजगारीहरू अप्रत्यासित रूपमा गुमिरहेको वर्तमान अवस्थामा यो दिवसले नयाँ पुस्तालाई व्यावसायिक कृषिप्रति आकर्षित हुँदै आत्मनिर्भर बन्न थप प्रेरणा मिलोस् भन्ने शुभकामा व्यक्त गर्दछु |

धन्यवाद !

मिति २०७७ असार १५ गते, सोमबार ।

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख  
कर्णाली प्रदेश