आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “प्रदेश स्थापना दिवस तथा शहीद दिवस”को शुभकामना सन्देश


कर्णाली प्रदेश स्थापना दिवस तथा शहीद दिवसका अवसरमा सम्पूर्ण कर्णालीवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो जीवनको आहुति दिनुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

कर्णाली प्रदेश निर्माणका क्रममा करिब ५ वर्षअघि छुट्टै प्रदेश स्थापनाका लागि भएको करिब २ हप्ता लामो आन्दोलनमा ४ जनाको शहादत पश्चात् बि.सं.२०७२ साल भाद्र ४ गते आजकै दिन कर्णाली प्रदेशको स्थापना भएको हो । कर्णाली प्रदेश प्राप्तिका लागि बलिदान गर्नुहुने शहीदहरुको सम्झना एवम् सम्मानका साथै प्रदेश प्राप्ति भएको दिनको स्मरणमा कर्णाली प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना दिवस तथा शहीद दिवसका रुपमा मनाउने गरेको छ । आजको दिनले शहीदहरुको सपना साकार पार्न तपाईँ हामी सबैलाई एकजुट भई अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

अन्तमा, विश्वभर फैलिएको कोरोनाभाइरस (COVID-19) महामारीको सम्भावित सङ्क्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउन विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले निर्धारण गरेका आचार संहिताको पूर्ण पालना गर्न आम कर्णालीवासीलाई आग्रह गर्दै यस दिवसले हामी सबैमा सकारात्मक चिन्तनको विकास गरी समुन्नत प्रदेश निर्माणमा अग्रसर हुन समेत प्रेरणा मिल्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

 

धन्यवाद !

मिति २०७७ भाद्र ४ गते, बिहीबार ।                                        

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख  
कर्णाली प्रदेश