आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “१७औँ निजामती सेवा दिवस, २०७७”को अवसरमा व्यक्त शुभकामना सन्देश

 

"स्वच्छ र सक्षम निजामती प्रशासन: समृद्धि र सुशासन" भन्ने नारासहित मनाउन लागिएको यस वर्षको १७औँ निजामती सेवा दिवस,२०७७ को अवसरमा देश तथा विदेशमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वि.सं. २०१३ साल भाद्र २२ गते निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा मनाउन सुरु गरिएको यस दिवसका दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट कर्मचारीहरूलार्इ पुरस्कृत गर्ने, सेवा निवृत्तहरूलार्इ सम्मान गर्ने र निजामती कर्मचारीहरूलार्इ उत्साहित र प्रेरित गर्ने प्रकृतिका कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । यस दिवसले सबै निजामती कर्मचारीहरूमा उच्च मनोबल एवम् हौसलाका साथ पारदर्शीरूपमा सेवा प्रवाह गर्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु ।

निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । नागरिकहरूलार्इ राज्यको उपस्थिति र न्यायमा आधारित सेवा प्रदान गर्नमा निजामती कर्मचारीहरूको भूमिका अतुलनीय रहेको छ । यस दिवसले समृद्धि र सुशासन कायम गर्नमा निजामती कर्मचारीको इच्छा शक्ति र आत्मबल वृद्धि भई “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्नमा थप टेवा पुग्ने अपेक्षा गरेको छु ।

अन्तमा, कोरोनाभाइरसको विश्वव्यापी महामारीको यस विषम परिस्थितिमा अग्र पंक्तिमा रहेर अहोरात्र खटिईरहनुभएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको उच्च प्रशंसा गर्दै पुन: १७औँ निजामती सेवा दिवस,२०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !
मिति २०७७ भाद्र २२ गते, सोमवार ।

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख  
कर्णाली प्रदेश