आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७” को अवसरमा व्यक्त शुभकामना सन्देश


ऐतिहासिक जननिर्वाचित संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको महत्वपूर्ण दिनको सम्मान स्वरूप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस अवसरमा सम्पूर्ण देशवासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै बधाई दिन चाहन्छु । साथै मुलुकमा भएका विभिन्न कालखण्डका सङ्घर्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका जनयुद्ध र जनआन्दोलनमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण वीर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडितहरू प्रति सम्मान प्रकट गर्दछु ।

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विविधताले भरिपूर्ण हाम्रो प्रदेशको सामाजिक एकता आपसी  सद्भाव र सहिष्णुतामा आधारित छ । मुलुकको समृद्धिका लागि नेपाल सरकारले लिएको “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा अनुरूप कर्णाली प्रदेशको दीर्घकालीन सोच “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी” लाई पूरा गर्न आजको दिन महत्वपूर्ण हुने अपेक्षा गरेको छु ।

हाम्रो संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको यस महत्वपूर्ण लक्ष्य प्राप्तिका लागि सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आमनागरिकहरू समेत क्रियाशील हुन आवश्यक छ । आजको दिनले हामी सबै कर्णालीवासीलाई नेपालको संविधानका मूल्य र मान्यताहरू आत्मसाथ गरी अघि बढ्दै संविधानको पूर्ण पालना गर्न प्रेरणा मिल्ने  विश्वास लिएको छु ।

अन्तमा, कोभिड १९ को महामारीबाट उत्पन्न यस कठिन परिस्थितिलाई मध्यनजर गर्दै मानव जीवन रक्षार्थ सजग र सचेत भई दैनिक क्रियाकलाप सञ्चालन गर्न समेत प्रदेशवासी सबैमा अपिल गर्दै नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त संविधानको कार्यान्वयन मार्फत समृद्धि हाँसिल गर्न सकौं भनी सुभेच्छा प्रकट गर्दछु ।

धन्यवाद !

मिति २०७७ असोज ३ गते, शानिवार ।

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख  
कर्णाली प्रदेश