आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट तमु ल्होसार, उधौली र योमरी पर्व, २०७७ को अवसरमा व्यक्त शुभकामना सन्देश

गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार, किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्हि (पूर्णिमा) को पावन अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । 
आजको दिन गुरुङ समुदायले नयाँ वर्षको सुरुआतको रूपमा तमु ल्होसार मनाउने गर्दछन् भने, आजैको दिन किराँत समुदायले नयाँ अन्नबाली आफ्ना पितृलाई चढाएर पितृभोग गराई उधौली मनाउने गर्दछन् । यसैगरी नेवार समुदायले विशेष परिकार ‘योमरी’ बनाएर एकआपसमा बाँडिचुँडी खाने गर्दछन् । यसरी एकै दिनलाई विभिन्न तवरबाट मनाउने सांस्कृतिक विविधतामा आधारित चाड आफैमा अद्भुत र अनुसरणीय रहेको छ ।  चाडपर्वहरूका माध्यमबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको साझा कर्तव्य हो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधता रहेको नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले आपसी भाइचारा, सामाजिक सद्भाव र एकता बढाउने विश्वास लिएको छु । 
अन्तमा, विगतदेखि नै हर्षोल्लासका साथ मनाउने गरिएका चाडपर्वहरू यस वर्ष भने कोरोनाभाइरस (कोभिड १९) को कारण असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनुपर्ने बाध्यता रहेकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाएर मात्र मनाउन अनुरोध गर्दै यी चाडपर्वहरूबाट कर्णाली प्रदेश भित्रका सबै जातजातिहरूलाई एकआपसमा एकतावद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धी गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।       
धन्यवाद ! 
मिति २०७७ पौष १५ गते, बुधवार ।  
                   

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख
कर्णाली प्रदेश