आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट माघी पर्व, मकर सङ्क्रान्ति, माघे सकराती र राष्ट्रिय योग दिवस, २०७७”को अवसरमा व्यक्त शुभकामना सन्देश

हरेक वर्ष माघ १ गते थारू समुदायले मनाउने ‘माघी पर्व’, मगर समुदायले मनाउने ‘माघे सकराती’ पर्व र अन्य समुदायले मनाउने ‘मकर सङ्क्रान्ति’ पर्व तथा नेपाल सरकारको आह्वानमा मनाइने राष्ट्रिय योग दिवस २०७७ को सुखद उपलक्ष्यमा सम्पूर्ण कर्णालीवासी दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वहरूले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् त्यसैले यस्ता चाडपर्वहरूको आफ्नै खालको विशिष्ट महत्त्व छ । हाम्रा चाडपर्वहरूले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा योगदान गरेका छन् । यस्ता चाडपर्वहरूको माध्यमबाट हाम्रो राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।

यसैगरी पूर्वीय दर्शनबाट प्रादुर्भाव भएको योग र ध्यानमा माध्यमले शरीरलाई विकारमुक्त राखी मानिसलाई स्वस्थ बनाउने कुरा हाम्रा पूर्वजहरूका खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भईसकेको छ, यसलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकारी सकेको छ । यसै सन्दर्भमा नेपाल सरकारले वि.सं. २०७२ सालदेखि आजको दिन (माघ १ गते)लाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन आह्वान गरेको छ । “गरौँ योग डटेर, कोभिड जान्छ हटेर” भन्ने मूल नाराको साथ यस वर्षको राष्ट्रिय योग दिवस देशभरि नै मनाइँदै छ । योगले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले नियमित योगबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) विरुद्ध लड्न मद्दत गर्नेछ भन्ने समेत विश्वास गरेको छु ।

अन्तमा, सिङ्गो नेपाली संस्कृति भित्रको एक महत्त्वपूर्ण चाड माघी, मकर सङ्क्रान्ति, माघे सकराती र राष्ट्रिय योग दिवस २०७७ ले सबै नेपालीमा नयाँ उमङ्ग सहित हर्षोल्लास र शान्तिको सन्देश फैलाई आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै आरोग्य जीवन प्राप्तिको कामना गर्दछु

धन्यवाद !

मिति २०७७ माघ १ गते, बिहीवार ।                                                        

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश