आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “सहिद दिवस, २०७७”को अवसरमा व्यक्त शुभकामना सन्देश

नेपालमा सङ्घीय  लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदा सम्मका विभिन्न कालखण्डमा भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने आदरणीय अमर सहिदहरूप्रति राष्ट्रिय सहिद दिवस, २०७७ को अवसरमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । 
प्रजातन्त्र स्थापनाको लागि निरङ्कुश राणा शासनको विरुद्ध सङ्घर्ष गर्दै सहादत प्राप्त गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द लगायत देश र जनताको लागि आफ्नो जीवन न्यौछावर गर्नुहुने वीर सहिदहरूले गरेको त्याग र बलिदानको परिणाम स्वरूप हाम्रो देश नेपाल एक स्वतन्त्र, सार्वभौम, अखण्ड स्वाधीन र स्वाभिमानी मुलुकको रूपमा स्थापित भएको छ । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलित रूपमा समर्पित रहन यस दिवसले हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
नेपाली जनताले प्राप्त गरेका वर्तमान समयका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । यसैले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गरी समुन्नत राष्ट्र निर्माणमा आ-आफ्नो तह र तप्काबाट योगदान पुर्‍याउन सबैमा आह्वान गर्दछु ।
अन्तमा, राष्ट्रिय सहिद दिवस,२०७७ को अवसरमा वीर सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै कर्णाली प्रदेशवासी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ! 
मिति २०७७ माघ १६ गते, शुक्रवार ।

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख
कर्णाली प्रदेश