‘१११ औं अन्तर्राष्ट्रिय नारी दिवस २०७७’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

आर्थिक वर्ष

‘१११ औं अन्तर्राष्ट्रिय नारी दिवस २०७७’को शुभकामना सन्देश

 

“महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” भन्ने नाराका साथ यस वर्ष मनाइँदै गरेको १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली  नारीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा यस वर्ष अगाडी सारिएको नाराले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा परिपूर्ति गर्न आधार तयार पार्ने विश्वास गरिएको छ । नेपालको संविधानले  समेत मौलिक हकको धारा ३८ मा महिला माथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरू अन्त्य गरी पुरुष र नारी बीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । त्यस्तै नेपालको कानूनले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था पनि गरेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरू लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पुर्याउने जस्ता विषयहरू महिलाको हित संरक्षणमा केन्द्रित छन् । राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरण आवश्यक रहेका कुरालाई मनन् गर्दै सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानको रूपमा हामी सबैले अघि बढाउनुपर्ने आजको आवश्यकता हो । यस दिवसले नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरू पुरा गर्न हौसला प्रदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।

अन्तमा, अन्तर्राष्ट्रिय नारी दिवसले लैंगिक समानताका विषयलाई आत्मसात् गर्न र लैंगिक समानताका लागि क्रियाशिल अधिकारकर्मी तथा अभियान्ताहरू लगायत सम्बद्ध सबैलाई उत्साहका साथ काम गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७७ फाल्गुण २४ गते, सोमबार ।     

(८ मार्च, २०२१)                                                            

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश