आर्थिक वर्ष

‘फागुपर्व-२०७७’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

रङ्गहरूको पर्वका रूपमा देशभरि नै उत्साहका साथ मनाइने फागुपूर्णिमा(होली)को अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको कामना गर्दछु ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भस्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज चैत्र १५ गते हिमाली र पहाडी जिल्लामा तथा भोलि १६ गते तराईका जिल्लामा मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ्गहरू खेली मनाउने परम्परा छ । सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले मौलिक संस्कृतिको संरक्षण गर्दै समस्त नेपालीहरूबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न योगदान पुर्‍याउने विश्वास गरेको छु ।

अन्तमा, गतवर्षदेखि महामारीको रूपमा फैलिएको कोभिड १९ (कोरोनाभाइरस)को सङ्क्रमण दर केही समय घटे पनि पछिल्लो पटक अझै जोखिम बढेको तथ्याङ्कले देखाएको छ । यस्तो अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै फागुपूर्णिमा पर्व मनाउन अनुरोध गर्दै पुन: सबैमा शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !
मिति २०७७ चैत्र १५  गते, आइतबार ।

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश