आर्थिक वर्ष

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२१ को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

 

श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२१ को अवसरमा कर्णालीबासी सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दछु । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसम्म नेपाललाई ल्याई पुर्‍याउन नेपाली श्रमिक वर्गले गरेको अमूल्य योगदानको उच्च मुल्याङ्कन गर्दै यस अवसरमा म सम्पूर्ण श्रमिकवर्ग प्रति उच्च सम्मान व्यक्त गर्दछु ।

विश्‍वभरिका श्रमिकहरूलाई श्रमको सम्मानका लागि एकतावद्ध बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) मनाइन्छ । यस दिवसले श्रमिकको हक, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्दै सबै श्रमजीवीलाई एकताको सूत्रमा बाँध्ने विश्वास लिएको छु ।

श्रमअधिकार सुनिश्चितताको लागि सबैले श्रम गर्ने अवसरसहित सामाजिक, आर्थिक समुन्नति हाँसिल गर्न सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने तर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामी कोरोनाभाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीका कारण कठिन मोडमा छौं । यसबाट अधिकांश क्षेत्रका श्रमिकहरूले रोजगारी गुमाउनु परेको छ, रोजगारीको सिलसिलामा विदेशमा रहनुभएका श्रमजीवी जनता स्वदेश फर्किनुभएको छ  भने स्वास्थ्य, सरसफाइ, सुरक्षा जस्ता अत्यावश्यक क्षेत्रका श्रमिकहरूले अग्रपंक्तिमा काम गर्नुपरेको छ । यसरी आफ्नो ज्यान जोखिममा राखेर मानव जीवन रक्षार्थ खटिनुहुने सबै क्षेत्रका श्रमिकहरूमा धन्यवाद व्यक्त गर्दै, उहाँहरूको मनोबल कमजोर हुन नदिन तर्फ सचेत रहन सबैलाई अनुरोध गर्दछु । यस विषम परिस्थितिमा रोजगारी गुमाउन पुगेका श्रमिकहरूको जीविकोपार्जनको लागि उचित प्रबन्ध गर्न सम्बद्ध सबैको ध्यान आकृष्ट गर्दछु ।

अन्तमा, अन्तर्राष्ट्रिय श्रमिक दिवस सबै क्षेत्रका श्रमिकहरूको लागि श्रमको उपयुक्त वातावरण, रोजगारीको ग्यारेण्टी, उचित पारिश्रमिक एवम् सामाजिक सुरक्षालगायतका श्रमिक अधिकार सुनिश्चित गर्न सार्थक बन्न सकोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७८ वैशाख १८ गते(मे १), शनिवार ।                                                        

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश