आर्थिक वर्ष

‘२५६५औँ बुद्धजयन्ती- २०७८’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश
 

नेपालका राष्ट्रिय विभूति, विश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध (सिद्धार्थ गौतम) को २५६५औँ जन्मजयन्ती- २०७८ को अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

अहिंसा, त्याग र विश्वशान्तिको सन्देश दिनुभएका सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति सबै आजकै दिन अर्थात् वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले त्रिसंयोग दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरू तथा समस्त जगत् ले उहाँका उपदेश स्मरण गर्दै बुद्ध जयन्ती मनाउने गर्दछन् । हिन्दू धर्मग्रन्थ अनुसार बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मानेर आज हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गर्ने प्रचलन रहिआएको छ । यस पर्वले आपसी प्रेम, सद्भाव, सहिष्णुता र भातृत्व अभिवृद्धि गर्दै सामाजिक एकता अझै बलियो बनाउन प्रेरणा प्रदान गर्ने अपेक्षा गरेको छु ।

गौतम बुद्धका उपदेशलगायत मार्गदर्शनलाई पालना गर्न सकेमा शान्ति र आपसी सद्भाव अभिवृद्धि हुनुका साथै सामाजिक तथा साँस्कृतिक विविधतासहितको राष्ट्रिय एकता सुदृढ बन्ने विश्वास गरेको छु ।

अन्तमा, हाल विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टबाट आफू बच्न र अरूलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गर्दै पुनः बुद्ध जयन्तीको मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७८ जेठ १२ गते, बुधवार ।

 

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश