आर्थिक वर्ष

‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायु एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।

वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको उपलक्ष्यमा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिएको छ । विविध जातजाति र धर्म संस्कृति बीचको एकता नै हाम्रो समाजको विशेषता हो । नेपालमा जातीय छुवाछूत, उत्पीडन र विभेदको अन्त्य गर्न राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गको मान्यता दिइएको छ र राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिता हुने कुरा संविधानको मौलिक हकले सुनिश्चित गरेको छ । यसै गरी जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ (संशोधन) २०७५ र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) नियमावली, २०७४ जस्ता कानुनहरू निर्माण भई कार्यान्वयनमा रहेका छन्, जसमा कसुरदारलाई कैद र जरिबानाको समेत व्यवस्था गरिएको छ । यसबाट दलित समुदाय माथि भएका विभेद र उत्पीडन क्रमशः अन्त्य हुने आधार निर्माण हुँदै गएको महसुस गरेको छु । यस दिवसले जातीय भेदभाव तथा छुवाछूत रहित समाज निर्माण गर्ने प्रेरणा दिने विश्वास गरेको छु ।  

अन्तमा, जातीय भेदभाव, छुवाछूत र सबै किसिमका विभेदकारी कुप्रथाको अन्त्य गर्ने काममा सबै जातजाति, धर्म संस्कृतिका नागरिक तथा सरोकारवाला सबैलाई सक्रिय भएर लाग्न आह्वान गर्दै पुनः यस दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७८ जेठ २१ गते, शुक्रवार ।

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश